
विदेश गएर कमाउने अनि त्यो पैसाले गाउँ छाडेर सहरमा रमाउनेहरूको संख्या दिनप्रतिदिन बढिरेको छ । तर, मोरङ सिंहदेवी–५ का नारायण राई र उनकी पत्नी खुजुमविनाचाहिँ अपवाद मात्र बनेका छैनन् । कृषिकर्म गरेर धेरैका लागि रोडमोडल नै बनेका छन् । विकट पहाडी गाउँमा जन्मेका दम्पती ऋण गरी दश वर्ष बहराइनमा रोजगारीमा गएका थिए । त्यहाँ चर्को मिहिनेतले कमाएको पैसा उनीहरूले सहरमा बसेर सुखभोग गर्न प्रयोग गरेनन् । बरु, पुर्खाले समेत छाडेर हिँडेको अनकन्टार गाउँमा गएर खेती प्रयोग गरे । त्यहाँ उनीहरूले गरेको खेती सफल भएपछि उनीहरू अरूका लागि रोडमोडल बनेका छन् ।
उनीहरूले मोरङको अनकन्टार पहाड सिंहदेवी– ५ मा चिया बगान हराभरा बनाएका छन् । पाँच वर्ष पहिले बनमारा झाडी फाँडेर चिया बगान सुरु गरेका उनीहरूले विषादीरहित अर्गानिक चिया उत्पादन गरेर आजकल वार्षिक ३० लाखसम्म आम्दानी गर्ने गरेका छन् । उनीहरूले उत्पादन गरेको अर्गानिक चिया नेपालमा मात्र नभएर तेस्रो मुलुकमा पनि निर्यात हुने गरेको छ ।
पहिले पाँच रोपनी जमिनमा चियाखेती थालेका दम्पती नारायण र खुजुमविनाले अहिले मातृभूमि टी स्टेट नाम दिएर तीन सय रोपनीमा चियाखेती विस्तार गरिसकेका छन् । र, अझै वर्षैपिच्छे बगान विस्तार गर्दै जाने योजना उनीहरूको छ । हालसम्म आफूले विदेशमा बसेर कमाएको र ऋणपान गरेको ३ करोड रुपैयाँ चियामा लगानी गरिसकेको उनीहरू बताउँछन् । चिया बगान विस्तार गरेपछि उनीहरू स्थानीयलाई रोजगारी दिन सफल त भएका छन् नै, थातथलो छाडेर हिँडेका स्थानीयहरुलाई पनि फर्काउन पनि सकेका छन् । अहिले सिंहदेवीको जेफालेमा जमिन खरिद गरेर पर्यटन व्यवसाय सञ्चालन गर्नेहरू बढ्न थालेका छन् ।
दम्पतीको पौरख मोरङकै गौरव
पहिले त नारायण र खुजुमविनालाई विदेशमा कमाएको पैसाले मज्जाले सहर बजारमा गलितो घर बनाएर बस्न छाडेर पहाडको डाँडामा फर्केर लगानी गर्दा धेरैले गाली गरे । कसैले मगज खुस्केको पनि भने । तर, आफ्नो गाउँको माया र ठाउँको विकट स्थिति बुझे भोगेका दम्पतीले केही गरेर देखाउनका लागि आफ्नो विश्वास बलियो बनाउँदै पुर्खाले छाडेर पाखो बारीमा बनमारा झाडी फाँडेर चिया खेती सुरु गरे । आफ्ना एक छोरा र एक छोरीलाई पनि उच्च शिक्षासँगै कृषि क्षेत्रमै सहभागी गराउन लागिपरेका उनीहरूको पौरखले सिंहदेवी गाउँ पौरखी कृषकको पर्यटकीय गाउँका रूपमा परिचित हुन सफल भएको छ । यसैगरी पहिलोपटक मोरङमा पनि चियाखेती फस्टाउन सफल भएपछि ‘मोरङमा पनि चियाखेती हुन्छ र ?’ भन्दै जिब्रो टोक्नेहरू छक्क पर्नेगरेका छन् । पहिले होच्याउनेहरू अहिले आफूहरूलाई स्यावास् भन्न थालेको र बसाइँ सरेर गएकाहरू पनि फर्केर आउन थालेको दम्पती नारायण र खुजुमविनाले बताए ।
चियाखेती अन्य गाउँमा पनि विस्तार हुन थाल्यो
आफूहरूले थालेको चियाखेती जिल्लाको अन्य छिमेकी गाविसमा पनि विस्तार हुन थालेको उनीहरूले बताए । उनीहरूले चियाको नर्सरी बगान पनि सुरु गरेका छन् । बिरुवा बेचेरै मात्र वार्षिक तीन लाख बढी आम्दानी गर्ने गरेको उनीहरू बताउँछन् । हाल उनीहरूले उत्पादन गरेको अर्गानिक ग्रिन टी नेपालमा मात्र नभएर तेस्रो मुलुकमा समेत निर्यात हुने गरेको छ । अर्गानिक चिया उत्पादन गरेकै कारण आजकल उनीहरूलाई देशभित्र हुने खाद्य मेला र व्यापारिक उत्सवहरूमा सहभागी हुन भ्याइनभ्याई हुने गरेको छ ।
चियाखेतीबाटै नाम र दाम कमाउन सफल भएका उनीहरूले पौरखी उद्यमीको दर्जनौँ पुरस्कार र प्रमाणपत्र प्राप्त गरिसकेका छन् । आजकल उनीहरूको चिया बगान र पौरख अवलोकन गर्न सिंहदेवीमा देशी विदेशी विज्ञ र पर्यटकहरूको लर्को लाग्न थालेको छ । आफ्नै पौरखले हौसिएका नारायण र उनकी पत्नी खुजुमविना आफ्नो चिया बगान हेर्न आउने देशी विदेशी जोकोहीलाई आफूहरूको पौरखको कथा गर्वसाथ सुनाउँदै भन्ने गर्छन्, ‘उद्यम सुरु गर्दा पहिले गाली खाइयो, तर अहिले सबैको ताली पाउन सफल भएका छौँ ।’
उनीहरूको मातृभूमि टी स्टेटबाट उत्पादन भएको अर्गानिक ‘ब्लाक टी’ र ‘रोस्टेड’ प्रविधिबाट तैयार गरिएको ‘ग्रिनटी’को माग धान्न धौ–धौ परेको उनीहरू बताउँछन् । स्थानीयवासी भीम ठकुरी भन्छन्, ‘दम्पतीको पौरख आफ्ना लागि मात्रै सिंहदेवीवासीहरू सबैका लािग फलिफाप भएको छ ।’ कृषि प्राविधिकहरूले समेत नसोचेको ठाउँमा चियाखेती विस्तार गरेर अनुकरणीय बन्न सफल भएका उनीहरूले सिंहदेवी गाविसलाई आर्थिक प्रगतिमा आत्मनिर्भर भएको हेर्न चाहन्छन् । यसका लागि सरकारले स्थानीय कृषकलाई लगानीमा प्रोत्साहन गर्नुपर्ने उनीहरू बताउँछन् । उनीहरू भन्छन्, ‘विकट ग्रामीण क्षेत्रमा उद्यम गर्ने पौरखीहरूलाई सरकारले बैंक ऋण सहज रूपमा उपलव्ध गराउनुपर्छ र बाटोघाटो र सिँचाइको उचित व्यवस्थामा लगानी गरिदिनुपर्छ ।’ नयाँ पत्रिकामा खबर छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Share Training
PREMIUM

प्रतिक्रिया दिनुहोस्