काठमाडौँ । नेपालको पूँजीबजार ओपन क्राई सिस्टमबाट शुरु भएर ब्रोकरको अफिसमा उपस्थित भई वा फोनमार्फत खरिद बिक्री आदेश दिने प्रणाली पार गर्दै हाल आफैले टिएमए मार्फत कारोबार गर्ने चरणसम्म पुगेको छ । समयक्रमसँगै भएको यो उपलब्धिलाई पूँजीबजारले एक किसिमको फड्को मारेको भन्न सकिन्छ । पूँजीबजारको यो विकासक्रमलाई नियामक निकायहरु नेपाल धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेन्ज तथा लगानीकर्ताको हक हित संरक्षण गछौं भन्ने संघ संगठन लगायतले निकै गौरवका साथ लिने गरेका छन् । पक्कै पनि हामी प्रविधिमैत्री पूँजीबजार उन्मुख हुँदैछौं । आजका दिनमा आउँदै गर्दा ४० लाखभन्दा बढी डिम्याट खाता खोलिएको, नौ लाख बढीले अनलाईन कारोबार अनुमति लिएको र करिब दुई लाख बढी लगानीकर्ता दैनिक दोस्रो बजार कारोबारमा सक्रिय हुने गरेको तथ्याङ्क प्रस्तुत गर्ने गरिन्छ ।
तर बिडम्बना के छ भने पूँजीबजारको विकास र विस्तारको दुहाई दिईँदै गर्दा आमलगानीकर्ता भने पटक पटक दोस्रो बजारमा नियामक निकाय र यिनै ठूला भनिएका संस्थागत र सम्भ्रान्त लगानीकर्ताका मोहरा बन्ने गरेका छन् । यस कार्यमा केहि मिडियाकर्मी मित्रहरु र बजार विश्लेषक भनिएकाहरुपनि त्यक्तिकै जिम्मेवार देखिन्छन् । आ–आफ्नो व्यवसाय, रोजगारी र पठनपाठन गरिरहेका सानो पूँजी भएका लगानीकर्ताहरुलाई यस “खेल” मा आमन्त्रित गर्ने चलन रहेको छ । उदाहरणको लागि नेप्से ईन्डेक्सले सन् २०१६ मा उच्चतम विन्दू १८८३ बनाएर तल ओर्लिएपछि करिब तीन बर्षसम्म पूँजीबजार आमलगानीकर्ताको नजरबाट ओझेलमा पर्यो । त्यसपस्चात, करिब एक वर्ष अगाडी ईन्डेक्स एक्कासी बढ्न थाल्यो । शुरुवाती चरणमा आमलगानीकर्ताहरुले त्यति चासो दिएनन् ।
विस्तारै ईन्डेक्स २००० विन्दु माथि उक्लेपछि शुरु भयो मिडियाबाजी र विश्लेषकहरुको आवगमन । नियामक निकायहरु पनि उदार हँुदै गए । पूँजीबजार सुधार र विस्तारकालागि विस्तृत कदम चालिएको भनि प्रचारबाजी गरियो । नेपाल राष्ट्र बैंकले समेत पूँजीबजार प्रतिकुल हुने कुनै पनि नीति निकट भविष्यमै नल्याउने भन्दै आश्वस्त बनायो । वित्तिय संस्थाहरुले पनि बोलाई बोलाई न्यून ब्याजदरमा सेयर धितो कर्जा प्रवाह गरे । पूँजीबजारलाई नजिकबाट नियालिरहेका नियामक निकायहरुले बजार उच्चतम बिन्दुतर्फ लम्कदै गर्दा कानमा तेल हालेर बसे । केही बजार विश्लेषकहरुले ईन्डेक्स ४००० देखि ६००० बिन्दु पुग्छ भन्दै आमगानीकर्तालाई आश्वस्त बनाउन खोजे । स्वयं नवनियुक्त अर्थमन्त्रीले समेत आफू पूँजीबजारमैत्री भएको आभास आमलगानीकर्तालाई दिलाए ।
जब लाखौं आमलगानीकर्ताले पूँजीबजारबाट सुनौलो भविष्य बनाउँछु भनी सपना देखेर लगानी गर्न शुरुमात्र के गरेका थिए तिनै सुनौलो सपना देखाउने व्यक्ति, संघसंस्था तथा नियामक निकायहरुबाट पूँजीबजारमाथि बज्र प्रहार हुन थाल्यो । अहिले आमलगानीकर्ता तिनै सिमित स्वार्थ बोकेका अमूक पात्र र प्रबृत्तीका शिकार भईरहेका छन् ।
आम लगानीकर्ता हौसिएका बेला पृष्ठभूमीमा भने टिएमएस सेवा बेलाबेलामा अवरुद्घ पार्ने, बुक विल्डिङ प्रविधिमा नीतिगत भ्रस्टाचार गर्ने, ईन्साईडर ट्रेडिङ, सर्कुलर ट्रेडिङ तथा सेयर कर्नरिङ जस्ता आपराधिक कार्य गर्ने र क्लबहाउसमा “बुमबुम” बहस चलाउने प्रबृत्ति मौलाउँदै गयो । यसरी दोस्रो बजारमा लगानीको आधारभूत ज्ञान र सीप नभएका सोझा लगानीकर्ता हरुलाई फसाउने षडयन्त्र रचियो ।
त्यसो त आफूले गरेको लगानीको जस अपजस स्वयं लगानीकर्ता आफैले लिनुपर्छ । तर पूँजीबजार लगानीकर्ताको भनोभावद्वारा निर्देशित हुन्छ भन्ने तथ्य बुझेकाहरुले अघिल्लो समय बजार बढाउन र अहिले घटाउन कुनै कसर बाँकी छाडकाछैनन् । माग र आपूर्तिको सामान्य सिद्घान्तमा चल्ने पूँजीबजारमा त्यही सिद्घान्तको प्राकृतिक स्वरुपलाई जबरजस्ति छेडछाड गरिँदैछ । पहिले मूल्य बढाउन कृतिम अभाव सिर्जना गर्ने काम भयो । अहिले घटाउन आमलगानीकर्तालाई प्यानिक बनाईँदैछ । यहाँ बुझ्नु के पर्छ भने जब अभिभावक, अगुवा र जान्नेसुन्नेले नै घात गर्ने नियत बनाएपछि एउटा भर्खरै बामेसर्न लागेको वालकको अवस्था कठैबरा हुने गर्दछ ।
आमलगानीकर्ताले तिरेको करमा रजाईँ गर्ने नेपाल धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेन्ज नीतिगत भ्रष्टाचारमा लिप्त छन् । संस्थागत लगानीकर्ता जुको ढाडिएर बसेझैं बसेका छन् । हिजो बजार बढ्दैगर्दा नेप्से ४००० पुग्छ भन्ने केही बजार विश्लेषक आज बजार घट्दा टेवा विन्दु परिक्षणमा ब्यस्त देखिन्छन् । प्राविधिक विश्लेषणलाई तत्काल नियमनको दायरामा ल्याउनुपर्ने देखिन्छ । विश्लेषकको योग्यता परिक्षा लिई अनुमतिपत्र जारी गरेपछिमात्र त्यस्ता विश्लेषण सार्वजनिक गर्नपाउने नीति अवलम्बन गर्नुपर्ने देखिन्छ ।
सम्भवतः केही समयको उतारचढावपछि बजार पक्कै पनि आफ्नो लयमा फर्किनेनै छ । यही नै पूँजीबजारको नियति र प्रकृति पनि हो । अहिलेको ओरालो यात्रा तय गर्दैगर्दा आमलगानीकर्ता आत्तिएर र अबको बजार बढाईमा मात्तिएर पक्कैपनि कठैबरा बन्नुहँदैन । आमलगानीकर्ताले पूँजीबजारमा पुनराबृत्ति भइरहने यस्ता पात्र, प्रबृत्ति र घटनाक्रमको विश्लेषण तत्कालै शुरु गर्नुपर्ने देखिन्छ । सुचिकृत कम्पनीहरुकाबारेमा सुक्ष्म अध्ययन गर्ने र लगानी ज्ञान हासिल गरि प्रतिफल दिने कम्पनीहरुमा लगानी गर्ने सम्भवतः यहि नै बेला हो । आमलगानीकर्ता सूसुचित हुनुपर्ने र नियामकले सूसुचित गर्नुपर्ने सहि समय पनि यही नै हो । (लेखक विकास के.सी. लगानीकर्ता तथा विराटलक्ष्मी विकास बैंकका पूर्व संचालक हुन्)
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Share Training
PREMIUM

प्रतिक्रिया दिनुहोस्