काठमाडौं । गरिबहरुको उत्थानका लागि ऋणको सहजीकारणको पतिकल्पना गरेर नेपाल राष्ट्र बैंकले लाइसेन्स दिएको हो लघुवित्तलाई । कृषि र लघु उध्यममार्फत समृद्धिको परिकल्पनाका साथ सुरु भएको थियो लघुवित्त । तर, लघुवित्तको यो मर्मलाई बिर्सिएर टार्गेट पुर्याउने नाममा ऋण दिनेले मनपरी काममा ऋण प्रवाह गरे । जथाभावी कामका लागि लघुवित्तले सजिलै ऋण दिन थालेपछी छोरीको विहे गर्न देखि छोराको ब्रतबन्ध गर्नसम्म, यहाँसम्मकी तीजमा सारी किन्न देखि बुडालाई खाडी पठाउनसम्म लघुवित्तबाट ऋण लिन थाले ऋणीहरु ।
गलत ठाउँमा ऋणको लगानी भपछि तिर्नेसँग ऋण तिर्ने आधार भएन । एउटा लघुवित्तको ऋण तिर्न अर्को लघुवित्तबाट ऋण लिने काम भयो । फेरि त्यो लघुवित्तको ऋण तिर्न अर्को लघुवित्तबाट ऋण । साँवा त तिरियो, तर ब्याज पूरै थाप्लोमा । त्यसपछी एउटा लघुवित्तको ऋणले पुग्न छाड्यो । ऋणमाथी ऋण, लिनेहरुले पाएसम्म पाईरहे, दिनेहरुले दिनसम्म दिईरहे । न ब्याज तिर्न इलम छ, न सावाँ तिर्ने सामर्थ्य छ । त्यसपछी गाउँ छोडेर भाग्नेहरु भाग्न थाले, गाउँबाट भाग्न नसक्नेहरु रुखमा झुन्डिएर मर्न थाले ।
एउटा मान्छे भाग्दा वा मर्दा एक लघुवित्तको ऋणी मात्रै भागेन वा मरेन, बरु त्यो ठाउँमा भएका सबैजसो लघुवित्तको खराब कर्जा बढ्यो । केन्द्रसम्म यसको रिपोर्ट पुगेपछी गाउँगाउँमा जसरी सकिन्छ, त्यसरी ऋण उठाउन उर्दी जारी हुन थाल्यो । त्यसपछी लघुवित्तका कर्मचारीलाई कर्मचारी कम गुण्डा बढी हुनुपर्ने बाध्यता आईलाग्यो । अनि त कति बाख्रा फुके, कतिका गोठ भत्किए, कति ऋणीले कुटाई खाए । लघुवित्तको नजरमा ऋणीले हद गरे, ऋण लिए तर तिरेनन्, ऋणीको नजरमा लघुवित्तले हद गरे, ब्याज नबुझाएको बहानामा मुक्का बजाउन थाले, मान्छे कुट्न थाले ।
यस्तै रमिता चल्दै थियो गाउँघर तिर, यहि बेला सुरु भयो मणिराम ज्ञवाली नेतृत्वको संघर्ष समिति । जसको काम नै अब ऋण तिर्नैपर्दैन भन्ने हुन थाल्यो । ओहो ! लिएको ऋण नै तिर्नुपर्दैन भनेपछी ऋण तिर्न नसक्नेहरु आन्दोलनमा सहभागी भए । त्यसपछी त एक गाउँ दुई गाउँ हुँदै देशभर फैलियो ऋण नतिर्नेहरुको आन्दोलन ।
एकातिर आन्दोलन, अर्कोतिर ऋण उठाउने प्रेसर, जागिर खाएको भन्दा पनि कुनै अपराधको सजाय पाए जसरी काम गर्नुपर्ने भयो, लघुबित्तकर्मीलाई । सके बुझाएर, नसके फकाएर, त्यो पनि नसके थर्काएर, थर्काउँदा पनि नमाने पाखुरी सुर्काएर, र पाखुरी सुर्काउँदा पनि नमाने एकान्तमा लगेर दुईचार झाप्पु हानेर ऋण उठाउने उर्दी दिन थाले लघुबित्तहरुले । यति नगरे आगिर खाईदिनेमात्र होइन कतै जागिर नमिल्ने गरि रिलिज नै नदिने लगायतका अपराध गर्न थाले लघुबित्तहरु । त्यसपछी त घटना के के सुन्नु पर्यो पर्यो, र आज पनि त्यस्तै अनेक घटनाहरुमध्येको एक घटना लिएर उपस्थित छौँ, जहाँ लघुबित्तका कर्मचारीले किस्ता नबुझाएको भन्दै थालमै थुकिदिएको आरोप लागेको छ । र ऋणीले पनि लघुबित्तको शाखा तोडफोड गरेका छन ।
भएको के हो ?
घटना दाङको हो । उन्नति लघुवित्त वित्तीय संस्थाको साखा कार्यलयमा तोडफोड भएको छ । ऋण तनिरेको भन्दै लघुवित्तका कर्मचारीले अभद्र व्यवहार गरेको भन्दै आक्रोशित बनेका स्थानीयले लघुवित्तको दाङको राप्ती गाउँपालिका ७ सिसहनिया शाखा कार्यालयमा तोडफोड गरेका हुन् । स्थानीयका अनुसार दाङको गढवा गाउँपालिकामा खाना खाँदै गरेको अवस्थामा लघुवित्तका कर्मचारी ऋण असुल्न पुगेका थिए । ऋण नतिरेको भन्दै कर्मचारीले खाना खाँदै गरेको थालीमा थुकेपछि स्थानीय आक्रोशित बनेको स्थानीयको दाबी छ ।
कर्मचारी के भन्छन ?
लघुवित्तको सिसहनिया शाखाका साखा प्रबन्धक सन्तोष पौडेलले भने आफ्ना कर्मचारीले थालीमा थुकेको आरोप झुठो भएको दाबी गरेका छन् । लामो समयदेखि संस्थाबाट लिएको ऋणको किस्ता/ब्याज नतिर्ने ऋणीहरुकहाँ ऋण असुल गर्न जाँदा त्यसैको विरोधमा ऋणीहरुले कार्यालयमा तोडफोड गरेको पौडेलको दाबी छ । कुनै पनि कर्मचारीले कसैको पनि थालीमा नथुकेको र यो आफुमाथि लागेको झुठो आरोप रहेको उनको दाबी छ ।
संघर्ष समितिका अध्यक्षको फरक दाबी
यता लघुवित्त विरुद्धको संघर्ष समितिका अध्यक्ष मणिराम ज्ञवालीले उन्नति लघुवित्तमा भएको तोडफोड अत्याचारको प्रतिकार भएको बताएका छन् । ‘त्यत्तिकै कसैले मेरो थालीमा थुक्यो भन्छ ? उनीहरुले थालीमा थुकेकै हुन् । कर्मचारीले हदै गरेपछि सहनै नसकेर बचतकर्ता प्रतिकारमा उत्रिएका हुन् ।’, अर्थ सरोकारसँग कुराकानी गर्दै ज्ञवालीले भने, ‘मनलाग्दी आरोप लगाएर तोडफोड गर्ने हुँदैन । त्यस्तो हुन्थ्यो भने अरु ठाउँमा किन भएन ? त्यहाँमात्रै किन भयो ? त्यहाँका कर्मचारीले हदै गरेपछि अत्याचार सहन नसक्दा आक्रोश बिस्फोट भएको हो । अहिले आफ्ना कर्मचारीलाई बचाउन मेनेजरले जे पायो त्यही बोल्दैछन् ।’
सिडिओ भन्छन- ‘थाहै छैन’
यता जिल्ला प्रशासन कार्यालय दाङका प्रमुख जिल्ला अधिकारी सुशील बैद्यले सो विषयमा आफुलाई कुनै पनि जानकारी नभएको बताएका छन् भने कार्यालयकी सहायक प्रमुख जिल्ला अधिकारी सावित्रा पुनले भने तोडफोड भएको विषयमा जानकारी आए पनि विस्तृतमा भने थाहा नभएको बताइन् ।
यो त एउटा प्रतिनिधि उदाहरण मात्र हो । खाने बेलामा ऋण खाने र तिर्ने बेलामा निहुँ खोज्नेहरु त छननै, कुरै नबुझी ऋण दिने अनि गुण्डा पारामा ऋण असुल्न खोज्नेहरु पनि त्यतिकै छन् । र यी दुबै गलत छन् । समस्या सिष्टममा छ र पहिला सिष्टम सुध्रिनुपर्छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Share Training
PREMIUM

प्रतिक्रिया दिनुहोस्