काठमाडौँ ।जागिर सीइओको भएर के गर्नु, न कम्प्लाइन्सको सी छ संस्थामा, न व्यवहारमा इक्वीटीको इ छ, न आउटपुटको ओ छ । छ त, कार्यालयमा कर्मचारीको धर्ना छ, असन्तुष्टी छ, बोर्डमा समाधानको छलफलभन्दा बढी कर्मचारी पेलानको प्लान बन्छ, व्यवस्थापन उसै समस्यामा छ, नयाँ बिजनेश छैन, कारण, पाउनुपर्ने न्यूनतम कुराहरु पनि नपाएर आन्दोलनमा होमिएका कर्मचारीहरु बिजी लेस छन् । र त, निर्धनलाई उत्थान गर्ने भनेर खडा भएको निर्धन उत्थान लघुवित्त आफ्नै कर्मचारीको उत्थान गर्न नसकेर बिजोग अवस्थामा छ ।
संस्थागत सुसाशन कायम गर्नुपर्ने, कर्मचारीको तलब भत्ता वृद्धि गर्नुपर्ने, लगायतका माग राखेर निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाका कर्मचारी आन्दोलित त भएका छन् नै, थुप्रै दिन भयो, संस्थामा काम छैन, छ त मात्र असन्तुष्टि । बिहान कर्मचारी आउँछन्, सीईओ अफिसमा धर्ना बस्छन्, सीईओ साप कहिले मुसुक्क हाँस्छन्, कहिले घुरेर हेर्छन् ।
कर्मचारीको माग नाजायज छैन । पछिल्लो तीन वर्षदेखि कर्मचारीको सेवा सुविधा बढेको छैन । काममा मोटिभेसन छैन, छ त मात्र तनाव, तनाव अनि तनाव छ । टार्गेट छ तर फिल्डमा उत्रन साहस दिँदैन अफिस । काम गर, गर भन्छ, तर म छु भन्ने ढाडस दिँदैनन् सीईओ । फिल्डमा संघर्ष समितिका कार्यकर्ता थर्काउँछन्, कार्यालयमा हाकिम थर्काउँछन् । जागिर खान बसेको हो कि, गाली खान बसेको हो भन्ने नै कन्फ्युज्ड हुनेगरि खाईरहनुपरेको जागिर पनि अव खान नसकिने भो भनेर, कर्मचारीहरु आन्दोलनमा उत्रिएका छन् ।
यसो त पटकपटक कर्मचारी युनियनलाई माग पूरा गर्ने आश्वासन दिएको थियो व्यवस्थापनले । तर धान्नै नसक्नेगरी काम र पत्याउनै नसक्नेगरी आश्वासन बाहेक केही नदिने अफिसले हद गरेपछि बाध्य भएर २०८१ जेठ २४ गतेदेखि अवज्ञा कार्यक्रम सुरु गरे कर्मचारीले । हामी संस्थामा काम गर्छौं, रिटर्न दिन्छौं, फसेको ऋण उठाउँछौँ, बिजनेश बढाउँछौँ भन्दा पनि कामचाहिँ गर सेवा सुविधा त उही हो भन्ने शैलीमा व्यवस्थापन उत्रिएपछि कर्मचारीसँग पनि आन्दोलनमा उत्रनुको विकल्प भएन ।
र त माग पूरा नभएसम्म धर्ना कार्यक्रम पनि नरोक्ने र कार्यक्षेत्रमा पनि नफर्किने अडान कसेर कर्मचारीहरु सीइओकै कार्यकक्षमा पलेटी कसेर बसेका छन् । समस्याको समाधान गर्नुको साटो, घरी कर्मचारीलाई अदालत देखाएर धम्क्याउने, कहिले तलव बढ्यो भनेर फकाउने तर १ हजार बढाउने, घरी युनियनकै केहिलाई सुराकीको काम गर्न लगाएर आन्दोलनलाई कमजोर बनाउन थालेपछि झन् फायर भएका कर्मचारीहरु भनिरहेका छन्– यसपटक त ज्यान गए पनि नछोड्ने हो, आन्दोलन सफल नै बनाउने हो ।
यता सीईओ सापको गुनासोको फेहरिस्त आफ्नै छ । संस्थाको क्षमताले भ्याएसम्म माग सम्बोधनका लागि पहल गर्ने भन्दाभन्दै पनि कर्मचारीहरुले धर्ना सुरु गरेको आरोप छ सीइओको । उनी भन्छन्– ‘कर्मचारीका सबै माग पूरा गर्न सकिन्न । कामकारबाही नै ठप्प पारेर आन्दोलन गर्नु दुःखद् भयो ।’ अदालत र श्रम कार्यालयबारे पनि उनको तर्क आफ्नै छ ।
तर सीईओ भएपछि कर्मचारीलाई मेनेज गर्न सक्नुपर्छ । सबै कुरा मिलेका बेला झ्याप्प कुर्सीमा बसेर, ठ्याक्क फोन घुमाएर बिजनेश गराउन मात्र सीईओ हुने होइन । आन्दोलन हुँदा त्यसको सेफ ल्याण्ड गर्न, कर्मचारीलाई मिलाएर अगाडी बढाउन पनि जान्नुपर्छ सीइओले । सीइओको कुरा ठिकै हो, कर्मचारीको सबै माग पूरा हुन सक्दैन । तर आन्दोलन गर्दा कानुन र लभ गर्दा जात हेरिन्न । अलि अलि नमिल्ने खालको माग नराखी, पूरा हुने माग पूरा हुँदैनन्, आन्दोलन र लभ दुबैमा हल्का कम्प्रमाइज्ड हुन्छ भन्ने तथ्य कर्मचारीले बुझिसक्दा पनि सीइओले नबुझ्नु अचम्म भएको छ । घरभित्रको झगडा अभिभावकले मिलाउने हो, छोराछोरीले लाउन खान पुगेन भन्दा, सकेसम्म पुर्याउने हो, नसके फकाउने हो, अदालत जाने होइन नि सीईओ साप । हामीले त मेनेजमेन्ट पढ्दा कर्मचारी त संस्थाका सम्पत्ति हुन् भनेर पढेको हो, तपाईंले मेनेजमेन्ट नै पढेर सीईओ हुनुभएको भए यति त बिर्सनु भएन नि, होइन र ?
निर्धन उत्थान लघुवित्त आन्दोलन गर्ने थलो होइन, हुनु हुँदैन । कर्मचारीको जायज माग पूरा गर्दा सीईओ सापको पुर्ख्यौली सम्पत्ति सकिने पनि होइन । कर्मचारीलाई खुसी बनाएर न संस्था गरिब हुन्छ, न कर्मचारीलाई दुखी बनाएर संस्थाको भलो सम्भव छ । कर्मचारीलाई धर्ना रहर पक्कै नहोला । धर्ना नै धर्ना बीचको उदेकलाग्दो जागिर सीईओ सापलाई पनि रहर नहोला । अव आन्दोलन दुबै पक्षको रहर नभएपछि यो शहरमा निर्धनका नाममा के रमिता गर्नु ? होइन र ? कर्मचारीले मेरो गोरुको बार्है टक्का नगरे, सीईओ सापले आफ्नै खल्तीबाट जानेजस्तो नसोचे, कर्मचारी पनि खुसी भएर काम गरे, सीईओ सापले पनि टिम वर्कमा विश्वास गरे, बोर्डले पनि व्यवस्थापनका कुरा सुने, व्यवस्थापनले पनि बोर्डलाई बुझाउनेगरी कुरो सुनाए सबै समस्या समाधान भईहाल्छ नि होइन र ? यो बेला झगडा गरेर बस्ने होइन, बिजनेश गर्ने हो । बिजनेश गर्न कर्मचारी खुसी हुन आवश्यक छ । घर झगडाले त रमितेहरुलाई रमिता बाहेक के नै फल दिन्छ र ? त्यसैले सीइओसाप मिल्नुस, बोर्डलाई कन्भिन्स गराउनुस्, यति पनि नसके तपाईं कुर्सी छोड्नुस्, अर्को सीइओले आएर कुरो मिलाउँछ । कर्मचारीहरु पनि मिल्नुस्, हाकिम भनेका हाकिम हुन्, अलिअलि कम्प्रमाइज पनि गर्नुस्, अलिअलि भैगो त नि भनेर पनि छोडीदिनुस्, ध्यान कामतिर मोडीदिनुस्, यसमै सबैको भलो छ । (भिडियो)
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Share Training
PREMIUM

प्रतिक्रिया दिनुहोस्