काठमाडौं । मेला, जात्रा, पर्व त हामी नेपालीले बर्षभरी नै विभिन्न अवसरमा मनाईरहन्छौँ । तर एक दशक यता काठमाडौँको एक ठाउँमा दिनहुँ यस्तो सपनाको जात्रा लाग्छ, जसले देशलाई खोक्रो बनाईरहेको छ। यो जात्रामा काँधमा देशको झण्डा बोकेर र हातमा पासपोर्ट बोकेर युवाहरु सपना पूरा गर्न चील गाडीको यात्रामा हुन्छन्, अनि तिनका आफन्त बुबाआमा, दिदि बहिनी, दाजुभाई भक्कानिएर बिदाईका हातहरु हल्लाईरहेका हुन्छन् । हो, बर्षौंदेखि यहि सिलसिला जारी छ । हरेक दिन त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा बिदाई, रुवाई र पर्खाईको जात्रा चल्छ । देशले रोजगारी दिन नसकेपछि, देशले पढेकाहरुको आदर नगरेपछि, मन गरुङ्गो बनाएर, भएभरका सम्पत्ति बन्धक राखेर, नेपालीहरु विदेशिने क्रम जारी छ । दिनमै हजारौं र बर्षमा लाखौँ विद्यार्थीहरु यो देशमा सम्भावना नदेखेपछि विदेशिएका छन्, जसले अवको केहि बर्षमा यो देश बुडापाकाहरुको गाउँ बन्ने डर बढेको छ ।
अर्थ सरोकार
२ वर्ष अगाडि
देशको माया कसलाई हुँदैन र ? जन्मदिने आमाको काख कसलाई प्यारो हुँदैन र ? दशैंमा बाले निधारमा लगाईदिने रातो टिकाको मर्म कसले बुझ्दैन र ? तिहारमा बहिनीले पहिराईदिने मखमलीको मालाभित्रको ममता कसलाई प्रिय हुँदैन र ? को रहरले परदेशी बन्छ र ? तर ९ महिना कोखमा राखेर जन्मदिने आमाका केहि थान सपनाहरु त आखिर पूरा गर्नै छ, बाले छोराछोरी पढाउन ठेला उठाएका हत्केलाहरुलाई केहि राहत दिनु छ, रित्तिएका उल्लासहरु फर्काउनुछ, घरको गरिबी हटाउनुछ । गरिबीले पिल्सिएको जिन्दगी देखेर छिमेकी र आफन्तले गर्ने खिसीट्युरीलाई अन्त्य गर्नुछ अनन्तकालसम्म । जसका लागि विदेशिनुको विकल्प रहेन, पासपोर्टमा बिदेशी छाप नहाने घरको छाप्रो चुहिन छाड्ने भएन । यो युवाहरुले देश छोड्ने पहिलो कारण हो ।
देशले रोजगारी दिएन । ब्याचलर पढ्न थाल्यो, ४ बर्षको ब्याचलर सकिन ६ बर्ष लाग्छ, ६ बर्षको ब्याचलर सक्दा पनि ६ हजारको जागिर पाइन्न । माष्टर्स पढेकाहरुका लागि पनि अवसर छैन । गाउँमा मनसुन नआई, खेती हुँदैन, शहरमा भनसुन नगरी जागिन्र पाईदैन । जागिर नभई घर चलेन, घर नचलेपछि जिन्दगी चलेन । अनि किन नजाउन् युवाहरु विदेश ? यो युवाहरुले देश छोड्ने अर्को कारण हो ।
देश सिष्टममा चल्दैन। आफ्नो काम गराउन दशैंमा कालो जुस दिनुपर्छ, पाईलैपिच्छे घुस दिनुपर्छ । ट्रायल पास गरेको ९ महिनासम्म पनि लाइसेन्स आउँदैन, परिक्षा दिएको डेढ बर्षसम्म पनि रिजल्ट आउँदैन । धारामा हावा आउँछ पानी आउँदैन, सरकारी कार्यालयमा राजश्वसँगै खाजश्व नबुझाए पालो आउँदैन । अनि, किन नजाउन् युवाहरु विदेश ? यो पनि युवाहरुले देश छोड्ने अर्को कारण हो।
अव त खुलेरै यो तथ्य भन्नुपर्छ, नलजाई यो निर्मम सत्य भन्नुपर्छ । बालिग भएपछि, कसैलाई मन पराएर विवाह गर्छु भन्नु के गलत हो र ? तर देशमा माया बसेकी मायालुसँग एक कप चिया खाने वातावरण पनि छैन । सँगै केटाकेटी डुलेको मात्र देखे, छिमेकीले कुरा काट्छन्, आफन्तले चरित्रमाथि औंला उठाउँछन् । मनैले आफ्नो ठानेकी मायालुलाई मनैबाट माया गरेर अँगालो हाल्नुलाई यो समाजले छाडापन भन्छ । फलानोसँग म प्रेममा छु, विवाह गर्छु भन्दा घरकाले घरैबाट निकालिदिने डर छ, जातभात, कुल, कुटुम्ब अनेकका कुरा आउँछन् । तर, विदेश जानका लागि उनैसँग कोर्ट म्यारिज गर्नुपर्यो भन्दा तीनै बाआमा साक्षी बसिदिन्छन्, उल्टै विदेशजान खर्च दिन्छन्, अनि विदेश आयो, मैले यीनैसँग जिन्दगी कटाउने भएँ है भन्दा तीनै बाआमाहरु, अव विदेश नै गएपछि त के भन्नु र ? बरु एक पटक नेपालमा बाजा बजाएर बिवाह गर्नचाहिं आउनु है भन्छन् । सुन्दा तीतो लागे पनि धेरैले आफ्नो प्रेम सफल बनाउन पनि विदेशको विकल्प रोजेका छन् । यसको मतलव गलत कामलाई प्रोत्साहन दिनुपर्छ भन्ने होइन, तर समाज परिवर्तन हुनुपर्छ भन्नेचाहिं जरुर हो ।
देशमा केहि गर्छु भन्दा बैंकले ऋण दिन धितो खोज्छ, धितो भएको भए किन सपना बेच्नुपर्थ्यो ? सापटी खोज्दा आफन्तले बचन लगाउँछन्, न विदेशको यात्रा न यहीं काम, कसरी तिर्छस् भन्छन् । अव त्यहि काम गर्न त सापटी चाहिएको, अनि कसरी होस् त हातमा काम, अहँ कोहि कुरै बुझ्दैनन् । अलिअलि काम गर्यो, देशमा कसैले न कसैले खुट्टा तानिहाल्छन् । व्यापार गरौँ, एक त पूँजी छैन, अर्को वातावरण छैन । जागिर गरौँ, जागिर कसैले दिंदैन । पाएको जागिर कहिले खुस्किने हो भर छैन । अनि एउटा युवा किन नजाओस् विदेश ? युवाहरुले देश छोडिरहेको यो अर्को महत्वपूर्ण कारण हो।
अनि अर्को महत्वपूर्ण पाटो, यो कतै नभएको हाम्रो समाज छ, जहाँ विदेश नजाने एउटा केटोलाई विवाह गर्नका लागि केटि पाउन गाह्रो छ । नेपालमा हुने ज्वाई नेपालमै हल्लिराछ भन्ने ससुराबाले अष्ट्रेलियामा भएका ज्वाईले गज्जब गरिसिंदै छ भन्छन् । स्थिति यस्तो भईसक्यो, कि विदेशमा भाँडा माझेर लाखौँ कमाए पनि एक रुपैयाँ बचाउन नसकेकाहरुको इज्जत हुने भयो, नेपालमै बसेर लाखौँ बचाउनेहरु त्यहि समाजका लागि बुङ्गा ठहरिने भए । अनि त भएको जागिर, राम्रै चलिरहेको व्यापार भए पनि यहि समाजलाई म पनि राम्रै गर्दैछु है विदेशतिर भन्नका लागि भए पनि विदेश जानुपर्ने स्थिति हुने भयो । यो कारण पनि युवाहरुले देश छोडिरहेका छन् ।
र त पछिल्लो समय जागिर नपाएकाहरु मात्र होइन, सरकारी जागिर पाएकाहरु पनि विदेशीने लिष्टमा छन् । नेपालमा राम्रो करियर भएकाहरु पनि विदेशिने पर्खाइमा छन् । यसको असर नेपालका सरकारी कार्यालय, गैरसरकारी संस्थाहरु र बैंक तथा वित्तीय संस्थाहरुमा पनि देखिन थालेको छ । यहि भएर हो, सानको जागिर, गज्जबको तलव, बोनस, उपदान लगायतका सेवा सुविधा छोडेर बैंकरहरु बिदेशिन थालेका छन्, बीमामा काम गर्नेहरु जति करोडको बीमा गरे पनि देशमा भविष्यको जोखिम देखेर पासपोर्ट बनाउन थालेका छन्, लघुवित्तका कर्मचारी, अव मेरो बित्त कारोबार लघु हुनुहुँदैन, भए पनि यो नेपालमा हुनुहुँदैन भनेर बिदेशीईरहेका छन् । (भिडियो)
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Share Training
PREMIUM

प्रतिक्रिया दिनुहोस्