काठमाडौँ । ‘ऋण जतिसुकै लागोस्, दिन कहिल्यै नलागोस्’, तर, नलाग्नुपर्ने त्यही दिन लागेपछि दाङवासी तनावमा छन् । साथी त हो, अंकल त हो, अझ नागरिकले सबैभन्दा धेरै विश्वास गर्ने बैंकको मेनेजर हो भन्दै दिएको सापटीले आज दाङको एउटा सिंगो गाउँ तनावमा छ, त्यही सिंगो गाउँ तत्कालीन वेस्टर्न डेभलपमेन्ट बैंकको नारायाणपुर शाखाका शाखा प्रबन्धक समीर बुढाथोकीले गरेको बैंक घोटालाको शिकार बनेको छ । न खानाको टुँगो, न बस्नको ठेगान, न आनन्दको निन्द्रा, न त सन्तुष्टिको सास नै फेर्न पाएका छन् दाङवासीले । र त न्याय माग्दै लामो दूरीको यात्रा तय गरेर वेस्टर्न डेभलपमेन्ट बैंकका पीडितहरु काठमाडौँ पुगेका छन् । उच्च अदालत तुलसीपुरले गरेको फैसलाले निर्दोषलाई दोषी ठहर गरेको र दोषीलाई उन्मुक्ति दिएको भन्दै सर्वोच्च अदालतमा पुनरावेदन दिएका छन् ।
समीर बुढाथोकीले आफू बैंकको ब्रान्च मेनेजर हुँदा गाउँभरीका नागरिकलाई आफ्नो मिठो बोलीको प्रभावमा पारेर बैंकको ग्राहक बनाउँथे । कसैलाई बाख्रा पाल्न, कसैलाई कुखुरा पाल्न त कसैलाई व्यवसाय विस्तार गर्न बैंकबाट ऋण दिन्थे । तपाईं नै भगवान, तपाई नै सबैथोक भनेर कुराले चिप्लो घस्ने बुढाथोकीले साह्रै नजिकको सम्बन्ध बनाएपछि केही दिनलाई सापटी भनेर पैसा माग्थे । यत्तिको नजिक, त्यसैमाथि बैंकको ब्रान्च मेनेजरले नै भनेपछि सापटी नदिने कुरै भएन । सोझा दाङवासीले समीरलाई उनले भने अनुसार नै पैसा सापटी दिन्थे र दिए । समीरले पनि फिर्ता गर्छु भनेकै समयमा पैसा फिर्ता पनि गरे । तर, समीरले पैसा फिर्ता गर्नुपर्ने व्यक्तिको पैसा बैंक खातामा हालिदिए, जुन पैसा फर्जी ऋणको थियो ।
यतिबेलासम्म पनि सबै ठिकठाक थियो । तर, जब बैंकमा नेपाल राष्ट्र बैंकको इन्स्पेक्सन टोली आयो तब बैंकमा झण्डै १८ करोड रुपैयाँ फर्जी ऋण प्रवाह भएको तथ्य बाहिरियो । जुन रकम समीर बुढाथोकीले तिनै सोझा गाउँलेका नाममा सापटीको रकम भन्दै फिर्ता गरेका थिए ।
सिस्टमअनुसार बैंकबाट लिइएको फर्जी ऋणको पैसा गाउँलेको बैंक खातामा गएको थियो । जुन पैसा उनीहरुले विभिन्न समयमा चेक काटेर निकालेका थिए । यसरी व्यवहारिक रुपमा फसाइएका दाङवासीलाई कानूनले पनि दोषी देख्यो र उच्च अदालत तुलसीपुरले बैंकिङ कसुर मुद्दामा एउटै गाउँका ३५ जनालाई दोषी ठहर गरिदियो ।
अहिले उक्त मुद्दामा केही पीडित जेलमा छन् भने केही सङ्घर्षको मैदानमा होमिएका छन् । उच्च अदालतले गरेको फैसलाविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन दिएपछि बैंकका पीडितहरु चिच्याईचिच्याई भनिरहेका छन्, ‘हामी निर्दोष छौँ, हामीलाई फसाइएको हो, हामीलाई न्याय देउ’ ।
यता बैंकका ब्रान्च मेनेजर समीर बुढाथोकीले गरेको १८ करोड घोटालामा बैंकका प्रमुख कार्यकारी अधिकृत र बैंक सञ्चालक समितिको समेत मिलेमतो भएको पीडितहरुले आरोप लगाएका छन् । लाख रुपैयाँ ऋण प्रवाह गर्न सक्ने क्षमता र अधिकार भएको एउटा शाखाबाट १८/१८ करोड रुपैयाँ प्रवाह हुँदा पनि कसैलाई थाहा नहुनुमा बैंकको सञ्चालक समिति र उच्च पदस्थको मिलेमतो भएको पीडितहरुले आरोप लगाएका छन् ।
अझ, ब्रान्च मेनेजरले त ठगिहाले, फसाइहाले, तर न्याय दिन अदालत छ, अदालतले न्याय दिन्छ भनेर बसेका पीडितहरु अदालतलेसमेत न्याय नदिएपछि रनभुल्लमा छन् । केही नगरेका सोझा गाउँलेलाई बैंकिङ कसुरमा दोषी ठहर गरेर, बैंक घोटालाको मुख्य अभियुक्तलाई सफाइ दिएपछि उच्च अदालतलेसमेत अन्याय गरेको भन्दै पीडितहरु अहिले सर्वोच्चको ढोका ढकढकाउन काठमाडौँ आएका छन् ।
अहिले तत्कालीन वेस्टर्न डेभलपमेन्ट बैंकका पीडितहरुको एउटैमा माग छ, गल्ती नगरेको केसमा सजाय भोग्न नपरोस् । आखिर कानुन कसैलाई फसाउन होइन, सहीलाई सही र गलतलाई गलत भन्न बनेको हो । अहिले यही केसमा कतिपय सोझा गाउँले जेलमा छन् । मनोज केसीको त झन् पुनरावेदन गर्ने म्याद पनि सकिएको छ । तर, न्यायको झिनो आश बोकेर काठमाडौँ आएका पीडितहरु यो तातो गर्मीमा पनि न्यायको शीतल छाहारी खोजिरहेका छन् । कानुनको सर्वमान्य सिद्धान्त हो, हजार दोषी उम्किऊन् तर एक निर्दोष फस्नु हुँदैन । तर, सिंगो गाउँ नै फसाइयो भनिरहेको यो केसमा सर्वोच्चले दूधको दूध पानीको पानी छुट्याओस् । निर्दोषले न्याय पाउन्, दोषीलाई हदैसम्मको कारबाही होस्… (भिडियो)
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Share Training
PREMIUM

प्रतिक्रिया दिनुहोस्