
- सविता सापकोटा / अर्थ सरोकार डटकम
गायक रामकृष्ण ढकालको यो गीतमा जसरी प्रियसीको प्रेमको बयान गर्न झरनाको सहारा लिईएको छ, त्यस्तै यी क्यामराहरुले प्रकृतिको मिठास पाउने झरनाहरुलाई कैद गर्नबाट आफुलाई रति बन्चित गराउन सकेनन्, चाहेनन् । हुन पनि झरिको समयमा झरेका हरेक जलका थोपाहरुले गरेको स्पर्शको आनन्द कुनै स्वर्गीय आनन्दको कल्पना भन्दा कम जरुर छैन । त्यहाँमाथि बनभित्र कयौं जंघारहरु छिचोलेर झरनाको रुपमा आएकी प्रकृतिले मन नलोभ्याउने कुरै भएन ।

झरनाको तस्विर खिच्ने प्रस्ताव मेरो फोटोग्राफीका गुरूबाट आएपछि हामीले ‘हाइकिङ’को प्लान बनायौं । श्रावण १९ गते ५ जनाको टोली बनाएर हामी बुडानिलकण्ठमा भेटघाट गरी मुहानपोखरीतिर लाग्यौं । हाइकिङ सुरु गर्दा नै झमझम पानी परिरहेकाले रिस्क लिनेहरु वर्षादी र छाता नओडी हिँडे । सायद त्यसको मज्जा पनि बेग्लै हुँदो हो । आ-आफ्नो अनुभूतिको कुरा पनि हो । शिवपुरी नागार्जुन नेशनल पार्कको प्रवेशद्वारमा टिकट काटेर भित्र प्रवेश गरियो । अनुभूति गरियो, ‘देशभित्रै टिकट काटेर स्वर्गको अनुभूति लिन पाइने । र पनि देशमा केहि छैन भन्नेहरुको चिच्चाहट उस्तै छ ।’

प्रवेशद्वारको देव्रेतिर उक्लने वित्तिकै ठुलो झरना छ । स्वर्गमा अप्सराहरुले स्वागत गरेझैं, हामीलाई तानिहाल्यो त्यहि झरनाले । त्यसपछी त ती झरनारुपी अप्सराहरुलाई आफ्नो क्यामरामा कैद नगर्ने कुरै भएन । त्यहाँ पुग्दा नै करिव १० बजिसकेको थियो । त्यहाँबाट हामी विष्णुद्वारतिर लाग्यौँ । बाटामा स-साना थुप्रै झरनाहरू भेटिए । हामीले कुनै झरनाको अनुभूति छुटाउन छोडेनौं, चाहेनौं । झरनाको स्पर्शसंगै साथीहरु मज्जा लिंदै थिए । र त ज्यान निथ्रुक्क भिज्दा पनि झरनासँग खल्ने क्रम साथीहरुले रोक्नुभएन । विष्णुद्वार मुहानपोखरीबाट सरासर हिँडे एक डेढ घन्टामा पुगिन्छ । हामी पनि त्यस्तै १ डेढ घन्टा हिँडेपछि विष्णुद्वार पुग्यौँ । विष्णुद्वारबाट विष्णुमती खोलाको सुरुवात भएको मानिन्छ । जीवनमा दोश्रोपटक विष्णुव्दार काखमा पुगेको थिएँ । पटक-पटक फूलको स्पर्श गरेजस्तो, मिठो अनुभव । विष्णुद्वार पुगेर हाम्रो टोली कोही पानीको मज्जा लिन थाले । कोहि ध्यानमा माग्न भएर आफुभित्र ‘म’ खोज्न थाले । कोहि यी सब सुन्दर पलहरुलाई क्यामरामा कैद गर्न थाले । साच्चै रमाइलो ।

हामीले अलि फरक अनुभव पनि गर्यौं । प्रकृतिसंगको त्यो जम्काभेटमा हामी झरनाको कलकल आवाजमा रमाउँदा एक अर्कासँग बोल्न पनि आवश्यक ठानेनछौं । त्यो एकाग्रताबीचको आनन्दमा केहिबेर डुबुल्की मारेपछि हामी त्यँहाबाट डाँडागाँउतिर लाग्यौँ । मन रमाएपनि ज्यान नथाक्ने कुरै भएन । डाँडागाँउ पुगेर खाजा खाएर हामी टोखा झर्दै त्यो दिनको हाइकिङलाई बिट मार्न तिर लाग्यौं ।

शिवपुरी नागार्जुन नेशनल पार्कभित्र वर्षायाममा हिँड्नुको छुट्टै मजा छ । हुन त जीवनका हरेक सुन्दरचीज सजिला छैनन् । त्यहाँ जाँदा पनि ठाउँ ठाउँमा जुकालको सामना गर्नुपर्छ । तर पिपल ढुंगाको काप फोरेर त उम्रन्छ भने त्यहाँको मज्जामा केहि जुके अफ्ट्याराहरुले के रोक्थे र । एकछिनमा घाम लाग्ने, एकछिनमा हुस्सु लाग्ने, एकछिनमा पानी पर्ने मौसमले कहिले रिसाउने, कहिले हाँस्ने साथीको साथझैं सार्है मज्जा दिन्छ ।

मेरो अनुभव नै भन्ने हो भने म काठमाडौँ उपत्यकाका सवै पहाड चढिसकेकी छु । त्यसमा मलाई सबैभन्दा मन पर्ने शिवपुरी नै हो । शिवपुरी प्राकृतिक रुपमा रहस्यमही ठाँउ पनि हो । म आफैँ पनि शिवपुरी भित्र ७ पटक भन्दा बढी गइसकेँ र अझै धेरै जानेछु । आजभोलि नेपालमा ट्रेकिङ गर्न आउने पर्यटकहरु पनि ‘वार्मअपका’ लागि शिवपुरी जाने क्रम बढ्दो छ । त्यो दिन पनि ८-९ जना विदेशीहरू शिवपुरीभित्र भेटिएका थिए ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Share Training
PREMIUM

प्रतिक्रिया दिनुहोस्